विद्यालयले गरेको भौतिक संरचना विकास, अत्याधुनिक गऔौक्षिक सामग्रीहरूको व्यवस्थापन,स्वस्थकर र स्वच्छ वातावरण निर्माणमा देखाएको अग्रसरता तथा शैक्षिक गुणस्तर सुधारका लागि थालेका नवीनतम अभ्यासहरू र सुधारोन्मुख शैक्षिक उपलब्धीलाई समिक्षा गर्ने हो भने एउटा नमुना विद्यालय निर्माणको दिशामा प्रशस्त आशाका सुनौला किरणहरू अवश्य झुल्किएका छन् ।
विद्यालय र समुदाय एकअर्काका परिपुरक हुन् । विद्यालय र समुदायमा हुने हरेक गतिविधिहरू प्रति एकअर्काले लिने जवाफदेहिता, उत्तरदायित्व एवम् अपनत्वको भावनाले विद्यालय र समुदायबीचको सम्बन्धलाई सुमधुर वनाउने मात्रै होइन अपितु समुन्नत, समृद्ध एवम् आदर्श समाजको परिकल्पनालाई समेत यर्थाथमा रुपान्तरण गरिदिन्छ ।
बिद्यालयले आफूसँग उपलब्ध भएका मानवीय, भौतिक र अन्य स्रोत साधनलाई सचेततापूर्वक परिचालन गर्ने, स्थानीय समुदाय, शुभेच्छुक र दानवीर सहयोगी हातहरूसँगको समझदारी, सहकार्य र बलियो सम्बन्ध निर्माण गर्ने दिशामा प्रतिवद्ध भएर लाग्ने वातावरण सिर्जना गर्न सक्दा शैक्षिक विकासको क्षेत्रमा ठूलो योगदान गर्ने प्रचुर सम्भावना सिद्धिमङ्गल मा.वि. ले बोकेको छ । यस अवस्थामा विद्यालयले विगतको पुनरावलोकन गर्दै, स्थानीय समुदायको रुची, चाहना र आवश्यकताको पहिचान र सम्बोधन गर्ने तथा समुदाय र विद्यालयले एकअर्काको प्रतिष्डालाई सिद्धिपुरको प्रतिष्ठासँग एकाकार गरेर हेर्ने र बुझ्ने बातावरण निर्माण गर्न अग्रसर छ जसले बिद्यालय र समुदायको सम्बन्ध अझ सबल र सुमधुर बन्ने पक्का छ । विद्यालयले निकट भविष्यका लगि तयार गरेका योजना तथा कार्यक्रमहरू :
१. ललितपुर जिल्लाकै एक नमुना विद्यालयको रुपमा विकास गर्ने ।
२. दूरसञ्चार प्राधिकरणको सहकार्यमा सूचना प्रविधि प्रयोगशाला स्थापना पश्चात ICT Hub को रुपमा विकास गर्ने ।
३. प्राविधिक शिक्षाको माध्यमबाट प्राविधिक सीपयुक्त दक्ष जनशक्तिविकास गर्ने ।
४. आगामी शैक्षिक सत्रबाट व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान (Computer Science) को कक्षा सञ्चालन गर्ने |
५. आगामी शैक्षिक सत्रबाट (CTEVT) को ३ बर्षे Diploma in Computer Engineering कक्षा सञ्चालन गर्ने ।